national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा पञ्चमी - २०

परिचय

परिचय

नेपालमा सरकारी स्तरमा सर्वप्रथम वि.सं. १८६९ साल भदौ १५ गते चित्ताई तहविल नामक पुस्तकालयको स्थापना गर्न औपचारिक रूपमा राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा लालमोहर जारी भर्इ पुस्तकालय स्थापना भएको थियो।दरबार स्कूलको स्थापना भएपछि यसै पुस्तकालयलार्इ विद्यालय पुस्तकालयका रूपमा परिणत गरिएको पाँइन्छ।पछि वेग्लै पुस्तकालयको आवश्यकता बोध गरेर राणा प्रधानमन्त्री वीर शमशेरको शासनकाल वि.सं. १९५७ सालमा घण्टाघरमा उनकै नाममा सरकारी स्तरमा वीर पुस्तकालयको स्थापना भयो।घण्टाघरमा स्थापना भएकाले यो पुस्तकालयलाई घण्टाघर लाइब्रेरी पनि भन्न थालियो।

राणा शासन कालमा निजीस्तरमा समेत केही पुस्तकालयहरू खुलेका थिए।विशेषतः निजी स्तरबाट पुस्तकालय तयार गर्नेहरुमा नायव वडा गुरुज्यू हेमराज पाण्डे, सरदार राममणि आदि देखिएका छन् भने चन्द्र शमशेरका छोरा केसर शमशेरको नाम अग्र पंक्तिमा आउछ।केसर पुस्तकालय नेपालको एक महत्वपूर्ण ऐतिहासिक एवं पुरातात्विक पुस्तकालय हो।यो पुस्तकालय सन्दर्भ पुस्तकालय (Reference Library) को रुपमा परिचित छ।यो पुस्तकालय हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सञ्चालित छ।

केसर शमशेर सन् १९०८ मा पिता चन्द्रशमशेरसँग बेलायत भ्रमणमा गएका थिए।बेलायतमा रहँदा त्यहाँको व्यवस्थित राष्ट्रिय पुस्तकालय, संग्रहालय तथा अभिलेखालय प्रणालीबाट असाध्यै प्रभावित भएर बेलायतमा रहँदा नै नेपालमा फर्केर केसर पुस्तकालय, संग्रहालय तथा अभिलेखालयको स्थापना गर्ने कुरा सोचेर बेलायत लगायत संसारका विभिन्न मुलुकवाट प्रकाशित पुस्तक, पत्रपत्रिका, प्रेश, क्लिप, जस्ता सामाग्री आफ्नो पुस्तकालयमा पठाउने व्यवस्था मिलाएर काठमाण्डौ फर्किएका थिए।

वि.सं. १९६५ देखि पुस्तक सङ्कलन कार्यमा निरन्तरता दिइएको यो निजी पुस्तकालय तथा सङ्ग्रहालयमा उनका पाहुना तथा देश विदेशका खास पदाधिकारीले मात्र त्यहाँ प्रवेश गर्ने अनुमति पाउँथे।वि.सं. २०२१ साल जेठ १७ गते भारतका प्रधानमन्त्री जवहारलाल नेहरूकको निधन भएको थाहा पाएर नेपालस्थित भारतीय राजदूतावासमा समवेदना दिएर केसरमहल फर्किएर नेहरुको जीवनी पढ्दा पढ्दै अचेत भएका केसरको सातदिन पछि (विसं. २०२१ साल जेठ २४ गते) उनको स्वर्गारोहण भयो।उनले देहान्त हुनुअघि आफूले लामो समयसम्म श्रम र साधन लगाएर सङ्कलन गरेको बौद्धिक तथा ऐतिहासिक रूपको पुस्तकालय सार्वजनिक सम्पत्तिको रूपमा जाओस् र ज्ञान पिपासु सबैले यसबाट लाभ लिन सकून् भन्ने इच्छा परिवारका सदस्यहरुवीच राखेका थिए।सोही अनुसार उनका उत्तराधिकारीबाट वि.सं.२०२४ सालमा यो पुस्तकालय उहाँकी श्रीमती कृष्णचन्द्रदेवी राणा तथा छोराहरुले यो पुस्तकालय, केसरमहल, स्वप्न बगैचा लगायत यस केसर महल परिसरको जग्गा समेत गरी जम्मा ३४-१-२ क्षेत्रफल भएको जाग्गा र सो जग्गाले चर्चेका लिगलिगा पात समेत केसर पुस्तकालयको नाममा तत्कालीन जग्गा श्री ५ को सरकारलाई हस्तान्तरण गरेका थिए।केसर शमशेरको निजी पुस्तकालयको रूपमा सञ्चालित यो पुस्तकालय सरकारको स्वामित्वमा आएपछि वि.सं. २०२६ साल साउन १ गतेदेखि सर्वसाधारण जनताका लागि खुला गरिएको थियो।नेपाल सरकारले सञ्चालन गर्न थालेपछि दाता श्री केसर शमशेरको नामबाटै पुस्तकालयको नामाकरण गरी केसरमहलमा यथावत कायम राखी पुस्तकालय सञ्चालन हुँदै आएको छ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्प पछिको अस्थायी टहरा निर्माण गरेर हालसम्म पनि आंशिक रूपमा सेवा प्रदान गरिदै आएको छ।वि.सं.२०७४ साल पछिको परिवर्तित सन्दर्भ तथा भूकम्प पछि प्रवलीकरण भइसकेपछिको सन्दर्भमा केसर पुस्तकालयको भूमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन तथा सञ्चालन गर्नका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी संरचना र दरवन्दि पुनरावलोकन गर्नुपर्ने देखिएको छ।पुस्तकालयको साज सज्जा, सङ्कलन र बनावट हेर्दा यो पुस्तकालय मात्र नभएर संग्राहलयको रूपमा रहेको छ।यहाँ भएका सङ्कलनहरू भाषागत रूपमा अंग्रेजी विषयको प्रधानता रहेको यस पुस्तकालयमा दुलर्भ पुस्तकहरूको साथै महत्वपूर्ण हस्तलिखित ग्रन्थ तथा ट्याक्सिडर्मी गरिएका बाघ, भालु, हरिण, अर्ना, गैंडा आदि जनावरको टाउको, छाला, सिंगै बाघको डर्मीका साथै कलात्मक मूर्तिहरू, भब्य महल तथा सुन्दर स्वप्न बगैंचा रहेकोछ।